बुटवल,५ फागुन ।
नेपालमा कृषिको सम्भावना भए पनि जनसहभागिता अनुसारको उत्पादन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भए पनि कृषिउत्पादन सन्तोषजनक नभएको उनिहरुको गुनासो छ ।
त्यस्तै आयातनिर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको विज्ञहरुको निस्कर्ष छ ।

पछिल्लो तथ्यांकअनुसार निर्यातको १० गुणा बढी आयात भएको छ । नेपालले सन् २०२१÷०२२ मा मात्रै ३ खर्व ७८ अर्ब कृषिउत्पादन आयात गरेको छ भने नेपालले ८ अर्बको मात्रै निर्यात गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघसहित कृषि तथा भूमि व्यवस्था मन्त्रालय समेतको आयोजनामा बुटवलमा सञ्चालित कृषि मेला–२०७९ को सन्दर्भमा भएको ‘कृषि बस्तुको आयातनिर्यात तथा वजारको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सन्देश भण्डारीले नेपालले थुप्रै बस्तु आयात गरेको र सिमित बस्तु मात्रै निर्यात गरेको बताए ।

उत्पादित कृषि बस्तुको ढुवानीमा समस्या, प्रविधिको न्यूनप्रयोग, बजार मुल्यमा उतारचढाव, जमिन खण्डिकरण, चर्को व्याजदर तथा वित्तिय संस्थाद्वारा कृषि ऋण लगानीमा आनाकानी, बजार पूर्वाधार अभाव, भण्डारको समस्यालगायतका कारणले नेपालमा कृषिले सोचेजस्तो गतिलिननसकेको उनको भनाई छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले देशको आर्थिक विकासको लागि कृषिक्रान्ति आवश्यक रहेको बताइन् । त्यसको लागि स्थानीयतहमात्रै नभएर प्रदेश र संघीय सरकार पनि लाग्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिको व्यवसायिक विकास अपरिहार्य रहे पनि त्यसतर्फ ध्यान पु¥याउन नसक्दा आयात चुलिएको र व्यापार सन्तुलनविग्रिदै गएको बताए । उनले कृषिको व्यवसायिकविकास तथाप्रविधिको प्रयोगको प्रवद्र्धनको लागि कृषि मेला आयोजना गरिएको बताए ।

त्यस अवसरमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासकालागि सरकारी तहबाट भएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।