बुटवल, ३ फागुन ।
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङले भ्रष्टचारीलाई ठेगान नलगाएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।
मुलुकको समृद्धिका लागि सुशासन जरुरी रहेको भन्दै उनले त्यसका लागि पहिला राजनीतिक नेतृत्व सुध्रनुपर्ने बताए ।
बुधबार बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्ने तर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
भाषण गरेर मात्रै मुलुक समृद्ध बन्न नसक्ने बताउदै उनले समृद्धिका लागि स्पष्ट योजना आबस्यक रहेको बताए ।
नेतृत्वले अर्थतन्त्र कमजोर भयो भन्ने मात्रै नभएर अर्थतन्त्र बलियो बनाउने उपाय पनि पहिल्याउनुपर्ने बताउदै उपसभापति गुरुङले खर्च कटौतीले मात्रै अर्थतन्त्र बलियो हुन नसक्ने धारणा राखे ।
नेपालका बनहरुमा काठ कुहाएर खेरफाल्ने र बार्षिक अर्बौको काठ आयात भएको भन्दै उनले एक सय बर्ष पुगेका रुखहरु काटेर निर्यात गर्न सके खर्बौ राजश्व उठ्न सक्ने बताए ।
उनले संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्ने बताए । ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ, उनले भने–यस्तो अवस्था आउन नदिन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामुहिक प्रयास गर्नुपर्ने देखिन्छ ।’
जनप्रतिनिधिहरु सुविधाभोगी हुन नहुने भन्दै उनले मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो । उहाँले संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा शहर बनाउने योजनाका साथ अगाडि बढेको बताए । उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउन सबैको साथ, सहयोग जरुरी रहेको धारणा राखे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बुटवलले देशमै अगुवाई गरिरहेको बताउँदै अझै अग्रणी शहरका रुपमा स्थापित हुनेतर्फ अग्रसर रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्ने गरी योजना अगाडि सारेको र सबैको साथ जरुरी रहेको बताउनुभयो । कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य, नेकपा एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउने सपना पूरा गर्ने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीहरु महाशाखा प्रमुख मित्रमणि खनाल, तुलसा अर्याल, कर्मचारीहरु रामप्रसाद अर्याल, संगीता अर्याल, गुनाकर खनाल, रुक्मागत बस्याल, गंगाधर सापकोटा, कमला भुसाल, गोविन्द पंगेनी, प्रसान्त भट्टराई, टंक आचार्य, सुजाता पन्थी, मीन खनाल, मनिसा रोकाया, हरिकला बेल्बासे, कमल पुरी, विरबहादुर थापालगायत २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।
उपमहानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम गरेको थियो ।
मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८, २०३३–२०३६), हरिबहादुर सिंह (२०२८), सूर्यलाल (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए ।
प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगर प्रमुख भए ।
सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।
१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हाले । नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन् ।






