बर्दिया,१ फागुन ।
बीमाको रकम दाबी गर्ने मनसायले बर्दियामा चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ ।

जिल्लाकाे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा आइतबार राति २ बजे लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमाको रकम दाबी गर्ने मनसायले आफैंले गाडीमा आगजनी गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

उक्त गाडीलाई माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेकाे प्रहरीको दाबी छ ।