दाङ, १९ माघ .
सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । पहिलो चरणमा सीता एअरले दाङको टरिगाउँ विमानस्थलमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

माघ १३ गते परीक्षण उडान गरेको सीता एअरले परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले दाङ–काठमाण्डौ उडान भर्ने भएको हो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बढीमा ७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गर्न आग्रह गरेको जानकारी दिइन् । यसका लागि विमानस्थलमा केही सुधार गर्ने उपमेयर चौधरीले बताइन् ।

विमानस्थल नजिक रहेका रुख कटान, घरको छतमा रहेका पाइपहरु काट्ने र धावनमार्ग आसपासमा ग्राबेल गर्नका लागि प्रक्रिया सुरु गरिने उपमेयर चौधरीले जानकारी दिइन् । नेपाल वायु सेवा निगमले ९ हजार १० रुपैयाँ भाडा निर्धारण गरेको छ ।