बुटवल,१७ माघ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई बुटवलमा स्वागत गरेको छ ।
औद्योगिक क्षेत्र तथा उद्योग वाणिज्य संघहरुको संस्थागत अध्ययन भ्रमणमा आएको टोलीलाई संघमा स्वागत गर्नुको साथै बुटवल औद्योगिक क्षेत्रमा अध्ययन भ्रमण गराएको हो ।
त्यस अवसरमा उद्योगीव्यवसायीका बर्तमान समस्या, समाधानका उपायहरु, दुई संघ विच सम्बन्ध र सहकार्य लगायतका विषयमा छलफल भएको थियो बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।
दाङबाट आएको टोलीलाई स्वागतगर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापनाकालदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानको बारेमा जानकारी गराएका थिए । उनले उद्योगी व्यवसायीमा आउने साझा समस्या र नयाँ अवसरहरुमा सहकार्यको लागि प्रस्ताव गरे ।
२०१० सालमा स्थापित संघले स्थापनाकालदेखि नै यस क्षेत्रको आर्थिक विकासको साथै सामाजिक तथा शैक्षिक र स्वास्थ्यको क्षेत्रमा योगदान गर्दै आएको छ ।
त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भ्रमणको उद्देश्य, दुई संघका विचमा हुनसक्ने सहकार्यका थप विषय बस्तुमा भनाई राख्दै सहकार्य गर्न तयार रहेको बताए ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले गरेका गतिबिधि सहितको संक्षिप्त जानकारी मुलक प्रस्तुती गरेका थिए ।
संघका सचिव मुक्ति अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।






