काठमाडौँ,१३ माघ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको विज्ञहरुले औंल्याएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजालगायतले उक्त धारणा राखेका हुन् । उनीहरुले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल दक्ष जनशक्ति परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
यस्तै हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले हवाई दुर्घटनाका प्रतिवेदनले दिएको सुझावका आधारमा अघि बढ्दा पनि दुर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए ।





