काठमाण्डाै,११ माघ ।
संघीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिए ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताए । आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक संकटमा फसेको बताएका थिए ।
स्टाटसमा उहाँले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित संघर्ष र भोगाइबारे उल्लेख गरेका छन् ।
जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उहाँले लेखेको स्टाटसमा उल्लेख छ । आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उहाँले उल्लेख गरेका थिए । आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
इलाममा रहेको पुर्ख्याैली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताएका थिए । सरकार, बिचौलिया र ठूला व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उनले उल्लेख गरेका छन् ।
तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गरेका थिए ।
उनलेे ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत नै आग्रह गरेका थिए । आचार्यका श्रीमती र दुई छोरी छन् ।






