काठमाण्डौ,९ माघ ।
पुस १ गते पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये हालसम्म ६० जनाको शव सम्बन्धित आफन्तलाई बुझाइएको छ ।
घटनास्थलबाट उद्धार गरेका ७० शवमध्ये काठमाण्डौ र पोखरामा गरी ६० जनाको शव बुझाएको यति एअरलाइन्सले जनाएको हो ।
यति एअरलाइन्सले एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ६० जनाको शव आफन्तलाई बुझाइएको र थप ४ जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको जनाएको हो ।
६ जनाको शव भने धेरै डढेका कारण फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएपछि डीएनए परीक्षणको प्रक्रिया सुरु भएको र यसको लागि केही समय लाग्ने एअरलाइन्सले जनाएको छ ।
हराइरहेका दुई जनाको खोजी कार्यलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
यसअघि ७१ जनाको शव भेटिएको भनिए पनि एउटा सानो टुक्रा मानव अंगलाई शव मान्न नसकिने फरेन्सिक विज्ञको रिपोर्ट अनुसार बाँकी दुई जनाको शव खोज्न थालेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।






