काठमाण्डाै,५ माघ । प्रतिनिधि सभाकाे सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।
मत विभाजनमा घिमिरेकाे पक्षमा एक सय ६७ मत खसेकाे छ । उहाँका विपक्षमा एक सय मत खसेकाे छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गरे ।
सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रस्तावक समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा थिइन् । उहाँकाे प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका थिए ।
सभामुख निर्वाचित भएपछि घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगले गर्ने प्रतिक्रिया दिए । उनले विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।






