काठमाण्डाै,१ माघ । पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोलि सार्वजनिक बिदा दिएकाे छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले दुर्घटना प्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
घटनाको कारण जाँच गर्न सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ । समिति सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने र आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेकाे छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिएका थिए । उनले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिएका छन् ।