बुटवल,३० पुस ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीले थप अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा बितरण गरेको छ । शनिबार बुटवल १३ बेलबासमा आयोजित कार्यक्रममा भूमि आयोगका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवलका २ जना र तिलोत्तमाका एकजनालाई जग्गाधनी प्रमाण पूर्जा बितरण गरेका हुन् ।
जग्गाधनी पूर्जा वितरण कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भूमिहिन र अव्यवस्थित बसोबासीलाई पूर्जा दिदा लिने राजस्व रकमबारे पुनःविचार गर्नुपर्ने बताए । उनले बुटवलभित्रका अव्यवस्थित बसोबासी र भूमिहीनलाई नियमानुसार पूर्जा र बसोबासको प्रमाणपत्र दिनुपर्ने बताए ।
कार्यक्रममा भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर क्षेत्रीले रुपन्देहीमा धेरै लालपूर्जा बनिसकेको र छिटै नै वितरणको तयारी रहेको बताए । उनले अव्यवस्थित बसोबासीले राजस्व दाखिला गरी प्रक्रियामा आएमा प्रमाण पूरा भएकाहरुलाई पूर्जा दिने बताए ।
कार्यक्रममा बुटवल १३ का वडाध्यक्ष नारायण पुन, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरु परशुराम ढकाल, पुरुषोत्तम बस्याल, टीका ओली, मधुकला कुँवर, लक्ष्मण खड्का, गोपाल बञ्जाडे, गंगाबहादुर केसी, भूमि आयोगका यमलाल तिवारी, बद्रे आलमलगायतले बोलेका थिए ।






