काठमाण्डौ,२९ पुस ।
नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रवार नयाँ बानेश्वरको एक होटलमा आयोजित एक कार्यक्रमबीच भुसाल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत समाजवादी पार्टीले अघि बढाउने बताए ।
उनले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी समेत गरे । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवाद (जबज) लाई ध्वस्त बनाएको भुसालको आरोप छ ।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले गएको मंसिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । उहाँ एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दार कम्युनिष्टलाई एकता गरेर अघि बढ्ने बताएका छन् ।

आज (शुक्रबार) वामपन्थी नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर जाने बताए । त्यस्तै उनले नयाँ आशा जागेको पनि बताए ।

पुरानै विचारले पार्टी चल्ने भन्दै अध्यक्ष नेपालले भने- ‘पार्टीलाई नयाँ ढंडले पुनर्गठन गरेर जानेछौँ । इमान्तदार कम्युनिष्टलाई एकताबद्ध गरेर अघि बढ्नेछौँ । नयाँ आशा जागेको छ ।’

कम्युनिष्ट आन्दोल व्यापक बनाउने पर्ने र इमान्दार कम्युनिष्टहरुलाई एकताबद्ध गरेर लाने आफूहरुको संकल्प रहेको अध्यक्ष नेपालले बताए । पुरानै विचारले पार्टी नबन्ने उनको ठहर थियो ।

उनले भने, ‘उही विचार रहेसम्म पार्टी बन्दैन, यो नयाँ सुरुवात हो । कम्युनिष्ट आन्दोलनलाई व्यापक बनाउनुपर्छ । अब पुरानै रबैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अघि बढ्नुपर्छ । हामीभित्र रहेका बिकारहरुको खोजी गर्नुपर्छ ।’