काठमाण्डाै,२६ पुस ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए ।
राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त रहेको उनले बताए । विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने उनले बताए ।
प्रवक्ता खतिवडाले दलका नेता एवम् पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए ।
‘राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै जस्ता विषयहरुमा यसका सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्त्वपूर्ण विषयहरुमा पार्टी अध्यक्षले, दलको नेताले बैठकमा, संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ’ खतिवडाले भने ।






