पाल्पा,२५ पुस
अब पाल्पाबाट पनि दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुुरु हुने भएको छ ।
साेमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले पाल्पाको तानसेन नगरपालिका–७, बासटारी ठाँटीमा सेवा सुरु भएको घोषणा गरेकी हुन् ।
पाल्पा लगायत यश क्षेत्रका जनताहरूले सवारी चालक अनुमतिपत्र प्राप्त गर्दा भाेग्नु परेका समस्यालाई मध्यनजर गरि पाल्पामा सवारीचालक अनुमतिपत्र सेवा केन्द्र स्थापना गरिएको भन्दै मन्त्री ढेगाले पहाडी जिल्ला पाल्पामा पहिलो पटक स्थापना गरिएको सेवा केन्द्रबाट पाल्पा,गुल्मी,स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुने बताइन् ।
यातायात ब्यवस्था कार्यालयहरूकाे सेवा प्रवाह चुस्त दुरूस्त बनाउन आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गर्दै उनलेे जनतालाई पायक पर्ने ठाउँबाट सेवा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले नवलपरासी र कपिलवस्तुमा समेत यातायात ब्यवस्था सेवा कार्यालय सञ्चालनमा ल्याएको जानकारी गराइन् ।
आफ्नो कार्यकालको अन्तिम समयमा भए पनि पाल्पामा सवारी चालक अनुमतिपत्र सम्बन्धि सेवा सुरु गर्न सक्षम भएकोमा खुसी ब्यक्त गर्दै उनलेे यसवाट उचित लाभ लिन स्थानीयलाई आग्रह गरिन् ।
मन्त्रालयका सचिव दीपकराज नेपालले सबैले सहज ढंगले सेवा
प्राप्त गर्न सकुन् भन्ने उदेश्यले मन्त्रालयले तिब्र गतिमा काम गरेर सवारी चालक अनुमतिपत्र सेवा केन्द्र स्थापना गरिएको भन्दै कार्यालयबाट गुनासो नआउने गरि काम हुने विह्वास ब्यक्त गरे ।
तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले
बाँसटारी क्षेत्रमा प्राप्त जग्गामा भवन र सवारीचालक अनुमतिपत्र तथा परीक्षण केन्द्र सञ्चालन हुँदा विकाससँगै रोजगारी पनि वृद्धि हुने बताए ।
काम समयमै हुनुपर्ने र यसबाट पहाडी जिल्लाका बासिन्दाले फाइदा लिने उनले बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,वडा सदस्य रिमा सारु, लेखापढी व्यवसायी लक्ष्मण रावल, मन्त्रालयका अधिकृत ओम बहादुर चिदी, यातायात सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारलगायतले जनतालाई सहज ढंगले काम गर्ने गरी कार्यालयले काम गर्ने बताए ।
साे ठाउँमा ३ करोड ५० लाख लागतमा सवारी चालक अनुमतिपत्र सेवा केन्द्रकाे काम अगाडि बढेको हो ।






