बुटवल,२५ पुस ।
लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभाको शुभारम्भ गर्दै प्रमुख बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले कृषि क्षेत्रको विकास विना आर्थिक विकास संभव नभएको भन्दै अव सामुहिक कृषि खेती आवश्यक रहेको बताए । कृषि क्षेत्रमा लाग्ने युवा पुस्ताको अभाव विस्तारै कमी हुदै गएको भन्दै उनले अव सामुहिक, सामुदायिक व्यवसायी चक्लाबन्दीमा कृषि प्रणाली अबलम्बन गर्नुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमीकिकरण गरेर अगाडी बढेको बताउँदै नगर प्रमुख पाण्डेयले सामुहिक कृषि कर्म, व्यवसायीक कृषि योजनामा नगरपालिकाले जहिलेपनि हातेमालो गर्ने बताए । उनले यसको लागि प्रदेश सरकार वा संघीय सरकारसंगको सहकार्यका लागि पहल गर्न नगरपालिका जहिले पनि तयार रहेको बताएका थिए ।

बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल कृषि उपज थोक बजार केन्द्र स्थापना गरी व्यवसायी, नगरपालिका र संघीय सरकारको सह लगानीमा स्थापना भएको बजारको आवस्यकता भन्दा सानो भएको भन्दै उनले नगरको पहलमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ कर्साघाट क्षेत्रमा बहुउदेश्यीय कृषि बजार स्थापना अन्तीम चरणमा पुगेको जानकारी गराए ।

यसको लागि स्थानीय तह वडा कार्यालय लगायतबाट संमन्वय भई वन क्षेत्रको जग्गा पर्ने भएको कारण विभागीय निर्णयको लागि संघीय सरकारमा पहल भैरहेको नगर प्रमुख पाण्डेयको भनाई छ । अहिले सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र बजारमाग भन्दा सानो भएको भन्दै उनले बैकल्पीक व्यवस्था नभएसम्मको लागि व्यवसायीहरु यहाँ बाट विस्तापित हुन नपर्ने समेत प्रतिवद्धता जानए । ‘मेरो कार्यकाल भरीमा बैंकल्पीक व्यवस्था नभए सम्मको लागि यहाँबाट व्यवसायीहरु विस्तापित हुनु पर्दैन, मेरो प्रतिवद्धता भयो’– प्रमुख पाण्डेयले भने ।

बुटवलमा पछिल्लो समयमा ठेला व्यवस्थापन, अव्यवस्थित रुपमा रहेका ई रिक्सा व्यवस्थापनको काम अहिले पनि जारी रहेको भन्दै उनले सफा, सुन्दुर र देशकै नमुना नगरबनाउने अभियानलाई सबैले साथ दिनुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पराजुलीले व्यवसायीक हितका लागि व्यवसायीक संघ संस्थाको विचमा सहकार्य जरुरी रहेको बताए । लुम्बिनी फलफुल तरकारीथोक व्यवसायी संघले व्यवसायीक हितका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको भन्दै उनले समाजिक क्षेत्रमा समेत व्यवसायीक संघ संस्थाले गरेको कार्य उत्कृष्ठ रहेको बताए ।

बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलाराज भट्टराईले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाको कारण व्यवसायीहरु आजित भैरहेको बताए । उनले यसको लागि संघीय सरकार, प्रदेश सरकार स्थानीय तहले समेत विशेष ख्याल गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल थोक बजारका व्यवस्थापक राम बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा संघका प्रेस सल्लहकार तथा बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल, कानूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे सहित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सहित विभिन्न व्याक्तित्वलाई सम्मान गरिएको थियो ।