पाल्पा,२३ पुस । पाल्पाको तानसेनमा रहेकाे नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै मन्त्री रानाले सहकारीको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकको जीवनस्तर उकास्नुुपर्नेमा जाेड दिए । उनले सहकारीले आर्थिक कोरोबारसँगै विपन्न वर्गका नागरिकहरुको जीवनस्तर सुुधारतर्फ पनि ध्यान दिन सहकारीलाई आग्रह गरे ।
मन्त्रीले रानाले भने‘सहकारी अर्थतन्त्रको मेरुदण्ड हो त्यसको सही उपयोग गरी ग्रामीण क्षेत्रका नागरिकको जीवनमा सुुधार ल्याउनुु अहिलेको आवश्यकता हो । ’ उनले आगामी दिनमा सहकारीले ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्न सहकारीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउदै अहिलेको आवश्यकता रोजगार र उत्पादन भएकाले त्यसतर्फ ध्यान दिन सहकारीलाई आग्रह गरे ।

बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले पाल्पाका सहकारीहरु वित्तिय कारोबारका क्षेत्रमा अब्बल बन्दै गएको बताए । उनले न्यून आय भएका विपन्न, पीछडिएका वर्गहरुको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिका अत्यन्त प्रशंसनिय रहेको धारण व्यक्त गरे ।
रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले आर्थिक विकासका लागि सहकारीहरुसँग स्थानीय सरकारले सहकार्य गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, लक्ष्मी सहकारी संस्थाका अध्यक्ष हरी रायमाझी, नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा लगायतले सहकारीको सफलताको शुुभकामना व्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष झमनबहादुर राज मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा सहकारीको शेयर सदस्य वृद्धि गर्दै विपन्न नागरिकहरुको जीवनस्तर उकास्ने कामलाई प्राथमिकता दिइने बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने र विदेशीने युवाहरुलाई गाउँमै लघुु उद्यमशीलता सिर्जना गर्ने खालका कार्यक्रम ल्याउने समेत बताए ।
साे अवसरमा सहकारीका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानालाई सम्मान समेत गरिएको थियो । यस्तै सहकारीले उत्कृष्ट बचतकर्ता भवानी शर्मा, सुरेश कर्माचार्य र समयमा कर्जा भुक्तानी गर्ने पूर्णीकला सार्की र दिप चित्र सुुवाललाई पनि सम्मान गरेको सहकारीका व्यवस्थापक डोलराज अर्यालले जानकारी दिए ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष सुनिता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुलाई व्यवसायिकतातर्फ उन्मूख गराउने योजना रहेको बताइन् ।
लेखा तथा सुपेरिवेक्षक समितिका संयोजक महेश्वर श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा अहिले ३ सय २३ शेयर सदस्य रहेका छन् । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराई, हास्य कलाकार फडिन्द्र बस्याल र छमछमकला केन्द्रका कलाकारहरुले समेत सांस्कृतिक प्रस्तुति राखेका थिए ।
संस्थाका अध्यक्ष झमनबहादुर राज मगरको अध्यक्षता, सदस्य शान्ति झेडीको स्वागत, सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।