बुटवल,२३ पुस । बुटवल उद्योग वाणिज्य संघ रुपन्देको रेडिमेट फेन्सी बस्तुगत समितिले मानव सेवा आश्रम बुटवलमा आश्रीत सडक मानवहरुलाई न्यानो कपडा प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै समितिले मानव सेवा आश्रममा आश्रीतहरूलाई जाडोमा लगाउने न्यानो कपडा प्रदान गरेकाे हो ।
तराई क्षेत्रमा शीतलहर चलिरहेको र जाडोको समयमा केही भएपनि राहत होस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व बहन गरेर बस्तुगत समितिले शनिबार एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गर्नुको साथै उनीहरुलाई एक छाक खाना खुवाईएको बस्तुगत समितिका सभापति विष्णु पौडेलले जानकारी दिए ।
रेडिमेट फेन्सी बस्तुगत समितिले समितिका सदस्यहरुको सहयोगमा ज्याकेट, हुट, ट्रयाकसुट, बच्चाको टाउजर लगायत जाडोमा लगाउने कपडा प्रदान प्रदान गरिएको सचिव शंकर ज्ञवालीले बताए ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको उद्धार र उनीहरुको सेवा सामान्य काम नभएको बताउँदै त्यस्तो काममा सहयोग भूमिका रहने व्यक्तिलाई पनि पुण्य प्राप्त हुने भनाई राखे । उनले बस्तुगत समितिले सडक मानवको सेवाको लागि गरेको कामले संघको समेत साख बढ्ने बताए ।
त्यस्तै मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले दाता तथा सहयोगी हातहरुको सहयोगले आश्रम सञ्चालन भईरहेको बताउँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनका अनुसार मानव सेवा आश्रम बुटवलमा हाल पुरुष तथा बालक समेत गरी ७६ जना आश्रीत छन् ।
त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बुटवल ४ का वडा अध्यक्ष तथा वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, बस्तुगत समितिका उपसभापति अरुणकुमार श्रेष्ठ लगायतले भनाई राखेका थिए।






