चितवन,२२ पुस ।
मृतकको गहना चोरेको आरोपमा भरतपुर अस्पतालका एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।
दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राई रहेका छन् ।
गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीको आरोप छ ।
मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ ।
उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी गराएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता,
प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।






