परासी,२० पुस । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् ।
उल्लेखबाट निस्केको धुँलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै बुधबार स्थानीयको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए । पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् ।
खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्नु परेको भन्दै प्रदुषण नियन्त्रण गर्न पटकपटक उद्योगकाे ध्यानाकर्षण गराएको स्थानीयकाे दाबी छ ।
उद्योग सञ्चालनका क्रममा ईन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोका कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ ।
मानव स्वास्थ्यमा मात्रै होइन् धुँलोका कारण कपडा सुकाउन समेत नहुने अवस्था छ । साथै, हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको भनाइ छ । उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफुहरुले प्रदुषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताए । उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।






