बुटवल,१४ पुस ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयोजनामा चौथो “बुटवल सडक खाना महोत्सव“–२०७९ हुने भएको छ ।
अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान,आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ
आयोजना गरिएको सडक खाना महोत्सवको तयारी पूरा भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका प्रेस सल्लाहकार यमलाल भुसालले जानकारी दिए ।
महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने आयोजककाे विश्वास छ ।
बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा यही पुस १५ गतेदेखि तीनदिन सम्म सञ्चालन हुने जनाईएको छ ।
महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन ।
कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुनः ०७९ बैशाख १ गते एकदिने तेस्रो कला संस्कृति तथा खाना महोत्सव बुटवलको हिलपार्क उद्यान परिषदमा गरिएको थियो ।
अहिले लगाउन थालिएको स्थान भने, फेरिएको छ । पहिले कालिका पथ अन्तर्गत पर्ने तीनकुनेदेखि होराइजन चोक सम्म लगाईएको थियो भने, हाल नयाँ बसपार्क देखि तिनकुने सम्म आयोजना गरिएको वताईएको छ । जसले गर्दा बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न खाना महोत्सव कोसेढुङ्गा सावित हुने अपेक्ष गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको भनाइ छ ।
पहाडी जिल्लाहरुको प्रमुख शहर मानिने बुटवलमा पछिल्लो समय निर्माणाधीन अवस्था रहेका दुईवटा केबुलकार, अन्तर्राष्ट्रिय
सम्मेलन केन्द्र, प्रर्दशनी स्थल लगायतका भौतिक संरचनाको तिव्र विकासमा खाना महोत्सवले थप आन्तरिक तथा बाह्य आगन्तुक पर्यटकहरु भित्रिने र यहाँको सबैको क्षेत्रहरुको
विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
चौथो खाना महोत्सवका लागि अस्थायी टेन्ट संरचनामा विद्युत्, खानेपानी, सरसफाई लगायत व्यवस्थापनमा करिव २५ लाखभन्दा वढि खर्च हुने अनुमान गरिएको र बिभिन्न प्रकृतिका १ सय वटा स्टलहरु राखिने आयोजकले जनाएका छन् ।






