हेटौंडा,१३ पुस ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनिहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि संसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।
त्यस्तै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी प्रक्रिया अगाडि बढेको छ । समितिका अनुसार बिहान ८ बजेदेखि १० बजे सम्म उम्मेदवारी दर्ताकाे समयसिमा तोकिएको थियो ।
दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुने निर्वाचन समितिका सयोजक महर्जनले जानकारी दिए । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदान सम्पन्न हुनेछ ।






