काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिएका हुन् । यसअघि दुईपटक प्रधानमन्त्री भएका दाहालले सुट पाइन्ट लगाएका थिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट तीन उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिएका हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।
एमालेबाट मन्त्री बनेका दामोदार भण्डारी, राजेन्द्र राई, ज्वालाकुमारी साह र जनमत पार्टीका अब्दुल खानले शपथ लिएका हुन् ।मन्त्रीका लागि एमालेले सिफारिस गरेकी साह भने शपथ ग्रहण कार्यक्रममा केही ढिला पुग्दा उनलाई राष्ट्रपति भण्डारीले एक्लै शपथ खुवाएकी थिइन ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।






