बुटवल,११ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि सुन फिर्ता नहुदै केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई कार्यक्षेत्रमा जाने तयारीमा रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले डिएसपी केसी अनुसन्धान टोलीको नियन्त्रणमा परेको बारे बुझ्ने काम भैरहेको जानकारी दिए ।