काठमाण्डाै,११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज हुने भएको छ । आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन हिजो बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रचण्डलाई माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।

कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन भत्किएपछि एमाले, माओवादीलगायतको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

यसअनुसार पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ भने साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको बताइएको छ । प्रचण्डको प्रधानमन्त्रीमा यो तेस्रो कार्यकाल हो । यसअघि उहाँ २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । अहिले एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बसिरहेको छ ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेका थिए ।