देउखुरी,८ पुस ।
लुम्बिनी प्रदेशको श्रम तथा यातायात ब्यवस्था मन्त्रालय पनि आजदेखी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट सुरुवात भएको छ ।
शुक्रबार दाङको देउखुरी उपत्यका मसुरीया स्थित राप्ती गाउपालिकाकाे भवनमा मन्त्रालयकाे कामकाज सुरु भएको हो ।
श्रम तथा यातायात मन्त्री पुर्मती ढेगा मगर र मन्त्रालयका सचिव दीपक राज नेपाल दुवै जनाले आजैदेखि साे कार्यालयबाट कामकाज सुरु गरेका हुन् ।
देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयकाे औपचारिक रूपमा उद्घाटन भएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले मंसिर ८ गते भित्र प्रदेशको स्थायी मुकाम देउखुरीबाटै मन्त्रालयकाे कामकाज सञ्चालन गर्न निर्देशन दिएकाले आजदेखि यहीँबाट काम सुरु गरिएको मन्त्री पुर्मती ढेगामगरले जानकारी दिइन् ।
प्रदेशका आन्तरिक मामिला,कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले अस्थायी मुकामबाट स्थायी मुकाम देउखुरीमा मन्त्रालयहरू स्थानान्तरण गर्ने कार्य भैरहेको बताए ।
बनिसकेका संरचना प्राप्त गरेका मन्त्रालयहरू देउखुरीमा सर्ने क्रम जारी भएको भन्दै उनलेे केही मन्त्रालयका संरचनाहरू पुनर्निर्माण भैरहेकोले अब छिट्टै सबै मन्त्रालयहरू देउखुरीमा स्थानान्तरण हुने जानकारी दिए ।
यसैबीच प्रदेश मन्त्रालयका सचिवहरूकाे बैठक समेत आज देउखुरीमै बसिरहेको छ ।






