बुटवल,७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्याेगिक प्रदर्शनी तथा मेला महाेत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेकी छन् ।
बुटवलमा आजदेखी सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले काेभिड-१९ लगायतका कारणबाट शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन यस्ता प्रदर्शनी तथा मेला महाेत्सवले
महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेकी हुन् ।
पछिल्लो समय मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको बताइन् ।
मुलुकको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उनको भनाई छ । “अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”-उनले भनिन् ।
राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताइन् ।
भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकास सँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिने भन्दै राष्ट्रपति भण्डारीले त्यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी रहेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइन् ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारले बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता औल्याएका छन् । ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरु संकटमा परेको भन्दै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई गम्भिर बन्न आग्रह गरे ।
बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरु मारमा परेको बताउँदै उनले त्यसको केही समयपछि झन ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्नेतर्फ सचेत गराए । पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा बैंक तथा वित्तीय संस्थाहरु अझ बढी गम्भिर र संवेदनशिल बन्नु पर्ने बताउँदै उनले उद्योगी र व्यवसायीहरुले ऋण र व्याज तिर्न नसक्ने अवस्था आए त्यसको गम्भिर असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने बताए ।
उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्ने सबैकाे साझा दायित्तव भएको भन्दै उनलेे यसमा सबैको साझा पहलको आवश्यकता रहेकाेमा जाेड दिए ।
बुटवलमा औद्योगिक प्रदर्शनी तथा मेला महाेत्सवकाे लामो इतिहास रहेको स्मरण गर्दै गृहमन्त्री खाणले औद्योगिक प्रदर्शनीले उद्योगीहरुलाई नयाँ उर्जा प्रदान गर्ने गरेको उल्लेख गरे ।
सहआयाेजक समेत रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनी तथा मेला महाेत्सवका लागि स्थायी संरचना नहुदा उद्योगी ब्यवसायीहरूका समस्यालाई मध्यनजर गरि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकाे पालामा नेपाली सेनाको नाउमा रहेको जग्गा प्रदर्शनी स्थल निर्माणका लागि प्राप्त भएको स्मरण गरे ।
रूपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पाैडेलकाे सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम,संघका बरिस्ठ उपाध्यक्ष दीलिप सापकोटा,द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले,महासचिव हरी बहादुर खत्री लगायतले आ आफ्नो भनाइ राखेका थिए ।






