काठमाडौं,४ पुस ।
प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ । पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ। सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो ।
निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ । नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन् । केसीले शपथ खुवाउने संभावना छ ।






