बुटवल,२ पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफु प्रधानमन्त्री बने भ्रष्टाचारीकाे ढाड सेक्ने बताएका छन् । उनलेे पहिले आफ्नो सम्पत्तीको छानविन गर्न आह्वान गर्ने बताए ।
आजदेखि बुटवलमा सुरु भएको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउनकाे चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले प्रधानमन्त्री बने आफ्नो र नेताहरुको सम्पत्तीको छानविन गर्ने बताएका हुन् । देशलाई भ्रष्ट्राचार मुक्त नभएसम्म विकास र समृद्ध नहुने बताउँदै उनले यसको लागि नेताहरुको सम्पत्ती छानविन गरिनु पर्नेमा जाेड दिए । उनलेे नेताहरुका सम्पत्ती छानविन गर्दा ठुलठुला भ्रष्ट्राचारका काण्डहरु बाहिर आउने भएकाले आफ्नो नाम प्रधानमन्त्रीको नाममा चर्चा गर्न नेताहरुले नसकेको ठोकुवा गरे । स्याङ्गजा २ बाट नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका नेता गुरुङले आफु प्रधानमन्त्री बने सुसासनको पक्षमा काम गर्ने प्रतिवद्वता जनाए ।

काँग्रेस उपसभापति गुरुङले मजदुरहरु समृद्ध बन्न नसक्दा सम्म देश सुखी र समृद्ध हुन नसक्ने बताउँदै अब बन्ने सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने स्वराेजगार मजदुरलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्न पहल गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले उपमहानगरले श्रम बैंकको स्थापना गर्न लागेको जानकारी दिए । बुटवलमा रहेका श्रमिकहरुको तथ्याङ्क संकलन गरेको बताउँदै उहाँले क्षमता र योग्यताको आधारमा रोजगार प्रदान गर्नको लागि श्रम बैंकको स्थापना गरिने बताए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य,पुर्व अध्यक्ष खिलानाथ दाहाल,उपाध्यक्ष अजयकुमार राई,महासचिव याेगेन्द्र कुमार कुँवर,उपमहासचिव गणेश बहादुर केसी,पुर्व महासचिव अच्युत राज पाण्डे,ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण प्रसाद बेलवासे,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दिर्घ बहादुर केसी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
महाधिवेशनमा काउनमा आबद्ध ३६५ प्रतिनिधिहरुको सहभागिता रहेको काउनका अध्यक्ष जेवि गुरुङले जानकारी दिए ।
सबै स्थानीय तहमा मजदुरको संगठन विस्तार गर्दै सामाजिक सुरक्षा कोषमा जोड्ने काउनको मुख्य उद्दश्य रहेको उनले बताए । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अहिले बन्दसत्र सुरु भएको छ । नयाँ नेतृत्वको लागि प्रदिप आचार्य, राजेन्द्र बाँनिया , कुमार पौडेलको नाम चर्चामा रहेको छ । काउनको चौथो राष्ट्रिय महाधिवेशन पौष ४ गतेसम्म बुटवलमा चल्ने छ ।