बुटवल,२९ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश मन्त्रालयका कर्मचारीलाई ३ हजार ५ सयदेखि ९ हजारसम्म थप भत्ता दिने भएको छ ।
बुधबार प्रदेशको स्थायी राजधानी दाङमा पहिलो पटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्मचारीलाई अतिरिक्त भत्ता दिने निर्णय गरेको हो । अस्थायी राजधानी बुटवलमा रहेका कर्मचारी स्थायी राजधानी दाङ जान नमानेपछि प्रदेश सरकारले अतिरिक्त भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय, चौथो, सहायक पाँचौँ तहका कर्मचारीलाई छ हजार,अधिकृत छैठौं,साताै र आठौं तहकालाई ७ हजार अधिकृत नवाै र दशाै तहका कर्मचारीलाई मासिक ९ हजार रूपयाँ तथा मन्त्रालयका सचिवलाई आवास सुविधा उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय र प्रदेश योजना आयोग गरि तीन सय ३७ जना कर्मचारी कार्यरत छन् ।

हिजो बुधवार राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सेवा प्रारम्भ तथा झन्डोत्तोलन समारोहमार्फत स्थायी राजधानीको औपचारिक शुभारम्भ भएको हो । स्थायी राजधानीको शुभारम्भसँगै मुख्यमन्त्री र मन्त्री परिषद्का कामकाज राप्ती उपत्यका देउखुरीबाट सुरु भएका छन् ।

मन्त्रालयमा कार्यरत कर्मचारीले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा भौतिक पूर्वाधार पूर्णरूपमा निर्माण नभइ राजधानी स्थानान्तरण भए पनि काम गर्न नसकिने आशयको विज्ञप्ति जारी गरेपछि सरकारले भत्ता दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रदेश सरकारका मन्त्रालयहरू छिट्टै देउखुरीमा स्थानान्तरण गर्ने निर्णय गर्नुकासाथै प्रदेश सभा सदस्यमा निर्वाचित भएका मन्त्री तथा अन्य प्रदेश सभा सदस्यहरूलाई बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताए ।
बैठकले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै निर्वाचन आयाेग र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गरेको छ ।