काठमाडौं,२७ मंसिर ।
विश्वकप फुटबलमा सट्टेबाजी खेलाएकाे आराेपमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौ स्थित वानएक्सबेट नामक बेटिङ कम्पनीका एजेन्ट आदर्श ठाकुर रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

ठाकुरले नक्कली नागरिकतामार्फत सीम कार्ड निकालेर मोबाइल वालेट अकाउन्ट सञ्चालन गरी सट्टेबाजी रकमको लेनदेन गर्दै आएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण प्रसाद कोइरालका अनुसार उनले मोबाइल वालेटबाट दुई करोड दुई लाख ८४ हजार चार सय ४८ रुपैयाँको कारोबार गरेको देखिएको छ । पक्राउ परेका ठाकुरको साथबाट ९४ वटा सिम कार्ड बरामद भएको एसपी कोइरालाले जानकारी दिए ।

सट्टेबाजीमा आर्थिक कारोबार देखिएका चार सय ८६ वटा डिजिटल वालेट अकाउन्ट रोक्का राखी थप व्यक्तिमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा नै बिज्ञापन गरेर वानएक्सबेटका एजेन्टले सट्टेबाजी खेलाइरहेका थिए ।