काठमाडौ,२५ मंसिर ।
निर्वाचन आयोगले दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली छानबिन थालेको छ ।

दलहरूले यसअघि बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्न लागेको हो ।

आगोगले दलहरूलाई गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो । दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र सांसदका नाम पठाउन समय दिइए पनि राति अबेर दलहरूले नाम पठाएका थिए ।

क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुन: दलहरूलाई पत्राचार गर्दैछ। समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ। उनीहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दलहरूले पठाएका नाम आयोगले छानबिन गरी प्रमाणित गर्ने जानकारी दिए । कुनै त्रुटि भएको भए दलहरूले सोमबारसम्म सच्याउन पाउने उनले बताए ।

प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन् ।

आयोगले मंसिर २९ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ ।