काठमाण्डाै,१९ मंसिर ।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत प्रतिनिधि सभातर्फको सबै १६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक भएको हो ।
दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी भए । उनले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतको अन्तरले हराए ।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे ।
यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।






