काठमाण्डौ, १७ मंसिर ।
१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।
आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट भयो । उसका लागि मायान यादवले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अभिषेक गौचन र विशालविक्रम केसीले तीन÷तीन विकेट लिए ।
आजै मुलपानी मैदानमा भएको अर्को खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो । कर्णालीले दिएको १ सय ५३ रनको लक्ष्य प्रदेश एकले ३१ ओभर ३ बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । प्रदेश एकका लागि सोनु अन्सारीले ४५ र भुपाल दंगालले नटआउट ४२ रन बनाए । प्रदेश एक चौथो र कर्णालीले छैठौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याएका छन् ।
फाइनल खेल पर्सि सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।






