काठमाण्डौ,१६ मंसिर ।
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मत परिणाम अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार शुक्रवार (आज) दिउँसोसम्मको समानुपातिकतर्फको मतपरिणामबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत ’थ्रेसहोल्ड’ कटाएका छन् ।

जसअनुसार सबैभन्दा बढी मत एमालेले प्राप्त गरेको छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना भइसकेको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताए ।
आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अनुमान गरेको छ ।

दलहरूले पाएको मत सख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाइ महिलाको सङ्ख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए ।