काठमाण्डौं,१४ मंसिर ।
म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एकजना युटुवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर˗४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिक रहेका छन् ।

निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक खड्का नामको युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् । महिला म्यादी प्रहरीलाई उनले अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।

युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको एसएसपी अर्यालले बताए ।

मकवानपुरबाट पक्राउ गरेर खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।