काठमाण्डौ,१४ मंसिर ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फ हालसम्म कुल १ करोड १ लाख ६७ हजार ८७९ मत गणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

बुधबार साँझ साढे ५ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ । जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन । गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

एमालेले २७ लाख २० हजार ६४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८४ हजार ५४४ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४१० मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २०१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७९ हजार २०८ मत पाएको छ ।

जनता समाजवादी पार्टी, नेपालले ४ लाख ८ हजार ६७२ मत र जनमत पार्टी ३ लाख ७५ हजार ७९१ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी २ लाख ९० हजार १७४ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४९ हजार ८३ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।