काठमाण्डौ,२२ कार्तिक ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् ।
आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चुनावको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।






