काठमाडौं,१६ कार्तिक ।

सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय खानीखोला धादिङका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाउन आदेश दिएको उनले बताए ।

इन्स्पेक्टर अपूर्वले गत असोज १६ गते बिहान १ बजेतिर खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो ।

घटनापछि उनी काठमाडौंमा आइपुगेका थिए । तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको हो ।

उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ ।