काठमाडौं,३ कार्तिक ।
रुपन्देही २ मा प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिने गरी उम्मेदवारी दर्ता गराएका निकोलस भनिने कमल भुसालको मुद्दामा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलाशले कार्तिक १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरी पाउं भन्ने उनको माग अनुसार अदालतले अन्तरिम आदेश नदिएपनि छलफलका लागि कार्तिक १५ गते दुबै पक्षलाई बोलाएको हो ।

भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले र विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले वहस गरेका थिए ।
नेपाल सरकारले उपलब्ध गराएको छात्रवृति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनको उम्मेदवारीविरुद्ध उजुरी परेको थियो ।