काठमाण्डाै,३० असाेज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको १ सय ३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी संक्रमण देखिएपछि जोशी २४ दिनदेखि अस्पतालमा उपचारत रहेका थिए ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उनलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी संस्कृतिविद् हुन् । उनि तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् ।
‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभयो । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक भएका थिए ।
उनले ३८ वर्षको उमेरमा २०१५ सालमा पुरातत्त्व विभागको निर्देशक भएका थिए । उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिन्छन ।






