काठमाण्डौ,२९ असोज ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक भएको छ । शनिबार काठमाण्डौ स्थित नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरिएको हो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गएको भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरे । कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए ।

‘हृृदय’को नियमित संस्करण काठमाण्डौका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाण्डौ बाहिरका लागि पाँच सय ७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । भदौ २८ मा सार्वजनिक गरिएको सीमित विशेष संस्करणको भने प्रति किताब मूल्य २५ हजार रुपैयाँ तोकिएको थियो ।

हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ ।
पुस्तक बिक्री हुने क्रम जारी छ । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ निर्माण परियोजनामा खर्च गरिने जनाइएको छ ।

यस्तै विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ । लेखक डा. कोइरालाले नियमित संस्करणको ५० प्रतिशत पनि त्यही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने बताए । यसरी काठमाण्डौको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।