काठमाडौं,२८ असाेज । रुपन्देही- २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट माथिकाे सुनुवाइ आजका लागि स्थगित भएको छ । सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको रिटमाथिकाे सुनुवाइ स्थगित भएको हो ।
आवश्यक तयारी नपुगेको भन्दै निवेदकका कानुन व्यवसायीले दिएको निवेदनका आधारमा आजको सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
उक्त रिट फुयालको इजलासको अन्तिम १६ नम्बरमा परेको थियो ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङलाई बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो ।
अदालतमा विचाराधिन भएको मुद्दा तथा उजुरी नपरेको अवस्थामा प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।






