काठमाडौं,२८ असोज ।
सत्ता गठबन्धनको तर्फबाट रुपन्देही– २ मा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

अदालतमा विचाराधीन रहेको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको भन्दै उनले बिहिबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले गुरुङसँगै अन्य दुई स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्ध गरेको थियो ।
कसैको उजुरी बिना उम्मेदवारी खारेज गरिदिएको भन्दै निर्वाचन अधिकृतको बिरोध भैरहेको छ ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई सहज बनाउन निर्वाचन अधिकृत उदबीर नेपालीले गुरुङको उम्मेदवारी रद्ध गरेको सत्ता गठवन्धन दलको आरोप छ ।

निर्वाचन अधिकृत नेपालीले गराउने निर्वाचन स्वतन्त्र र निस्पक्ष हुन नसक्ने भन्दै सत्ता गठवन्धन दलले उनलाई निर्वाचन अधिकृतको जिम्मेवारीबाट हटाउन माग गरेका छन् ।