काठमाण्डौ,२७ असोज ।
उम्मेदवारी खारेजी बिरुद्ध रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले कसैको उजुरीविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दै उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधिकृतले एमालेका उम्मेदवार विष्णु पौडेलसँग मिलेमतो गरेर उम्मेदवारी खारेज गरेको गुरुङको आरोप छ ।
रुपन्देही–२ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन् । गठबन्धनका उम्मेदवार गुरुङको मनोनयन नै खारेज भएपछि पौडेललाई चुनाव जित्न सजिलो हुने आँकलन गरिएको छ ।






