काठमाडौं,१५ असोज ।
बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आफै प्रहरी समक्ष उपस्थित हुने भएका छन् ।
सामाजिक संजालमार्फत लामिछानेले कानूनी लडाईं लड्ने अठोटका साथ आत्मसमर्पण गर्ने तयारीमा रहेको जनाएका हुन् । हाल फरार अवस्थामा विदेशमा रहेका लामिछानेले असोज २० गते अर्थात अक्टोबर ६ तारिखका दिन नेपाल फर्किने जनाएका पनि छन् ।
एक किशोरीले बलात्कारको जाहेरी दर्ता गरेपछि केन्यामा क्रिकेट खेल्न पुगेका लामिछाने त्यतैबाट विदेशतिरै बसेका थिए । तर उनले आफु निर्दोष रहेको दाबी गर्दै न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।’
लामिछानेले आफूमाथिको षडयन्त्रको समयसँगै पर्दाफास हुने दाबी समेत गरेका छन् ।






