काठमाण्डौ,१२ असोज ।
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा १६ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
आज बिहान काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँ बसपार्कबाट आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने विरुद्ध प्रहरीले कारबाही थालेको हो ।
बढी भाडा तिर्नु परे वा कुनै समस्या परे बस काउन्टर नजिकै रहेको हेल्प डेस्क र प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा खबर गर्न यात्रुलाई प्रहरीको अनुरोध छ ।
अहिले चाडपर्व लक्षित गरेर भिडभाड हुने ठाउँ र टिकट काउन्टरमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी भइरहेको प्रहरीले जनाएको छ ।






