काठमाण्डौ,९ असोज ।
राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आइतवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले सरकारले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको पनि बताए ।

त्यस्तै सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एन्ड इन्ट्रिगेशन इन एसिया एन्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने, राष्ट्रिय सतर्कता केन्द्र प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको आटवामा असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० का लागि राजपत्राङ्कितस्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने, दार्चुलाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनको आरओडब्ल्यू र टावर ब्याङ्क संरचनाहरू निर्माण गर्नका लागि सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ११ मा रहेको राष्ट्रिय वनभित्रको ५ दशमलव ८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने, विभिन्न पालिकालाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
सरकारले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९÷०८० का लागि अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताए ।

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवम् सडक दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन गाडीको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्बनलगायतका विषयमा अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ ।