काठमाडौं,९ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदमका विरूद्व सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।
अधिवक्ता सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ ।
विधेयक प्रमाणीकरणको विवादसम्बन्धी मुद्दा अरु सात वटा मुद्दाको पछि पालो परेको छ ।
२० भदौ २०७९ मा संघीय संसदले नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।
राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक १५ दिन बित्दा समेत प्रमाणिकरण नगरेको भन्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट आदेश जारी हुनुपर्ने माग गरेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमकाे आलोचना हुँदै आएको छ ।






