काठमाडौं,८ असोज ।
नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ ।
समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् ।
नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए ।
पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए ।
उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे ।
नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति शेरबहादुर देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।
उम्मेदवार छनोटमा शेखर पक्षलाई ४० प्रतिशत दिनैपर्ने उनले बताए ।
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए ।
डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्याय संगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए ।






