काठमाडौं,२६ भदौ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम मार्फत मन्त्री कुँवरले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा श्रमिकहरुले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा राखेका थिए । पछिल्लो समय धेरैले विदेश जाँदा ठगिएको गुनासा राख्ने गरेका छन् ।
मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने बताए । वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत उनले बताए ।
म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताउदै मन्त्री कुँवरले श्रमिकलाई म्यानपावरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका थिए ।
मन्त्री कुँवरले अहिलेसम्म ३ साता श्रमिकका गुनासो सुन्दै आएका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्यक्ष मन्त्रीसँग आफ्ना गुनासा राखेको मन्त्रालयले जनाएको छ ।
श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासो वैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरे । श्रमिकसँग श्रममन्त्री कार्यक्रम हरेक साताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन हुदैआएको छ ।






